नेपाली सेनाले ल्यायो तीन करोड अमेरिकी डलरको नयाँ विमान , ओर्लियो काठमाण्डौमा

काठमाण्डौ , कात्तिक १६ । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ ।

नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपाली सेनाले सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५(२२० विमान आज काठमाण्डौ आइपुगेको हो ।

कार्गाे विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाण्डौ आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

दुई वर्षअघि झण्डै साढे तीन अर्बमा नेपाली सेनाले खरिद सम्झौता गरेको थियो । यसका लागि नेपाली सेनाले सन् २०१७ को जुन महिनामा ३० मिलियन अमेरिकी डलरको सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।

इन्डोनेसियाको वेस्टजाभा बान्डुङको हुसेन सास्त्रानेगारा एअरबेसबाट उडेको विमान काठमाण्डौ आइपुगेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार इन्डोनेसियाको पीटी डिरागान्तारा (सरकारी कम्पनी) ले निर्माण गरेको विमान बहुउपयोगी छ ।

विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरीद गरेको हो । अब नेपाली सेनासँग हवाई साधनको संख्या २७ पुगेको छ, जसमा १२ ओटा सञ्चालनमा छन् भने १५ ओटा ग्राउण्डेट छन् ।

‘यो विमान विपद्को समयमा विभिन्न सैन्य गतिविधिका लागि सञ्चालन गरिनेछ । यो विमानले विशेषगरी मान्छे बोक्ने, सामान बोक्ने र प्यारा टोलीलाई जम्प हान्न पनि उपयोगी हुन्छ’, प्रवक्ता पाण्डेले भने । यो विमानको परीक्षण उडानको प्रक्रिया भने बाँकी नै रहेको उनले बताए ।

साथै यो विमान हवाई यात्रादेखि कार्गाे सुविधा पनि सञ्चालन गर्न सकिन्छ । विमानलाई परिमार्जन गरेर पनि आवश्यकताअनुसार विभिन्न उपयोगमा ल्याउन सकिन्छ ।
यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको सङ्ख्या गरी २० पुगेको छ ।

सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि तीन हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधन परिचानको व्यवस्था गरेको छ ।

सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने चारमध्ये दुई वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउनेछन् ।

त्यसैगरी अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।

मुलुकको आन्तरिक उडानका लागि अहिले १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

नेपालबाट तीन स्वदेशीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्