आलम प्रकरणको प्रतिवेदन तयारः घाइतेलाई इँटाभट्टामा जलाएको प्रहरीको निश्कर्ष

काठमाडौं, कात्तिक १५ । रौतहट २ का सांसद आलम १९ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले उनको अनुसन्धानको प्रतिवेदनलाई अन्तिम रुप दिएको बताएको छ ।


प्रवक्ता डीएसपी नविन कार्कीले भने ‘अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिएर आजै सरकारी वकिलको कार्यालयमा बुझाउँछौं ।’


प्रहरीले सांसद अफताल आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।


अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन प्रहरी प्रमुख ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजी किरण गौतम र तत्कालीन सरकारी वकिल ध्रुवमणि ज्ञवालीसँग पनि बयान लिएको छ । प्रहरीले उनीहरु भएकै ठाउँमा पुगेर बयान लिएको हो ।


यसैगरी घटनाका समयमा राजपुरमा खटिएका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी र राजीव बस्नेतले पनि बयान लिइएको छ ।

प्रहरीले घाइते सफी मोहम्मद र घटनामा प्रत्यक्षदर्शी एवं मतृक ओसी अख्तरका ससुरासँग पनि बयान लिएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले घाइतेहरुलाई इँटा भट्टासम्म र्पुयाउन प्रयोग भएको ट्याक्टर बरामद गरेको छ भने घाइतेहरुको उपचार गरिएको भारतीय अस्पतालको रिपोर्ट पनि ल्याइएको छ ।

प्रहरीले राजपुरमा बम विस्फोट भएको र त्यहाँ ज्यान गुमाएका वा घाइते भएकाहरुलाई इँटा भट्टामा लगेर जलाएको ठहर गरेको छ ।

‘त्रिलोकप्रताप सिंह (पिन्टु) र ओसी अख्तरको घटनामा मृत्यु भएको छ । अरु दर्जनौं मारिएका छन्’ रौतहट प्रहरीका एक अनुसन्धान अधिृकतले भने, ‘प्रतिवेदनमा मृतकको संख्या यकिन गर्न सकेनौं ।’

प्रहरीको अनुसन्धानमा आलमसँगै फरार रहेका चारै जनालाई मुख्य दोषी भएको निष्कर्ष पनि निकालेको छ ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा आलम १९ दिनदेखि प्रहरी हिरासतमा नै रहेका छन् ।अब उनलाई सोमबार अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपछि मुद्दा दर्ताको प्रक्रिया सुरु हुनेछ । आलमविरुद्ध बम विष्फोट, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान गरी तीन मुद्दा लगाउन प्रहरीले राय दिएको छ ।


आलमलाई सोमबार मात्र अदालतमा पेश गर्ने सम्भावना रहने जिल्ला सरकारी वकिल खडिन्द्र राज कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्