उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार, भयरहित वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ , कात्तिक १५ । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि केन्द्रीय सुरक्षा कार्ययोजना तयार भएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित छलफलमा उक्त केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको हो ।


कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका समावेश गरिएको छ ।


बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगत निर्वाचनका अनुभवको आधारमा कार्ययोजनालाई परिस्कृत गर्दै लैजान निर्देशन दिए । उनले निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिए ।


बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुललगायत सहभागी थिए ।


यसैगरी प्रमुख राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।


बिहीबार निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न १७ दलका प्रतिनिधिले मन, वचन र कर्मले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।


प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ७६ दलले र स्थानीय तहको उपनिर्वाचनमा ७८ दलले सहभागीता जनाउँदैन् ।

प्रतिक्रिया दिनुहोस्