मुग्लिन–पोखरा सडक चार लेनको बनाइने, पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौं,कात्तिक १४ । मुग्लिन–पोखरा सडक चार लेनको बन्ने भएको छ । ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ ।
एडिबीका अनुसार आगामी पाँच वर्ष्भित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ ।
यसका लागि एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ ।
विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ ।
एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो ।
भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पु¥याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकको रहेको छ । ।
प्रतिक्रिया दिनुहोस्