इटहरी र पोखरामा अस्पताल विस्तार गर्ने तयारीमा नेपाली सेना

काठमाडौं, कात्तिक १४ । नेपाली सेनाले इटहरी र पोखरामा अस्पताल विस्तार गर्ने भएको छ ।


अहिलेसम्म नेपालगञ्जमा मात्रै अस्पताल सञ्चालनमा ल्याएको सेनाले पोखरा र इटहरीमा पनि अस्पताल सञ्चालन गर्ने अन्तिम तयारी गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । यी दुवै अस्पतालमा ५०(५० शैय्या रहने छन् ।

’पोखरा र इटहरीमा अस्पतालको भवन तयार भइसकेको छ। अब अस्पतालको उपकरण खरिदको प्रक्रिया सुरू हुने क्रममा छ,’प्रवक्ता पाण्डेले भने,’सेना दिवसका दिनदेखि अस्पताल सञ्चालन गर्ने हाम्रो योजना हो।’

अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रिया लगायत सेवा पनि उपलब्ध हुने पाण्डेले बताए।

आकस्मिक कक्ष सबैका लागि तथा बहिरङ्ग र अन्य सेवा भने सैनिक र तिनका परिवारका लागि उपलब्ध गराइने सेनाले जनाएको छ।

निश्चित दिन तोकेर गैरसैनिकका लागि पनि बहिरङ्ग सेवा उपलब्ध गराउने तयारी भइरहेको प्रवक्ता पाण्डेले बताए।

अर्को आर्थिक वर्षदेखि धनगढी र बर्दिबासमा पनि अस्पताल निर्माणको काम सुरू हुने सेनाले जनाएको छ।


धनगढी र बर्दिबासमा भने २६(२६ शैय्याको अस्पताल बन्नेछ।नेपाली सेनाले काठमाडौंबाहिर अस्पतालको संख्या बढाउने भएको छ।


काठमाडौंमा मेडिकल कलेजसहित छाउनीमा अस्पताल र नर्सिङ कलेजसमेत सेनाले सञ्चालन गरिरहेको छ ।

यसरी काठमाडौं बाहिर पनि नेपाली सेनाले अस्पतालको संख्यालाई बढाउने भएपछि स्थानीयलाई सेवा लिन सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्