एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

काठमाडौ, कात्तिक १२। बैतडीमा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।बैतडीको दुर्गम सिगास गाउँपालिकामा सोमबार एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ६ लेकमकी २३ वर्षीया सुत्केरी महिला धाना साउँदको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा ल्याएको हो ।
सुत्केरी भएपछि महिलाको अत्यधिक रक्तश्राव भएको खबर सुनिसकेपछि हेलिकोप्टरको व्यवस्था गरिएको हो ।

धानालाई सुत्केरी व्यथा लागेपछि सोमबार बिहान स्थानीय प्रसूति सेवा केन्द्र लेकममा पुगेकी थिइन। त्यसपछि बिहान ९ बजेर ५० मिनेटमा प्रसूति सेवा केन्द्र लेकममा सुत्केरी भएकी धानाको अत्यधिक रक्तश्राव भएको थियो ।

सुत्केरी भएपछिको रक्तश्राव नरोकिएपछि धाना साँउदलाइ राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी महिलाको उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्