राष्ट्रपति, प्रधानमन्त्री तथा दलका शीर्ष नेताले दिए दीपावली र नेपाल सम्वतको यस्तो शुभकामना

काठमाण्डौ , कात्तिक १२ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्ष नेताले दीपावली एवं नेपाल संवतको नयाँ वर्ष ११४० को अवसरमा शुभकामना दिएका छन् ।

शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक संवतको रूपमा रहेको नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास गरिन् ।

दीपावली र नेपाल संवतको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिएकबा छन् । उज्यालो र उल्लासको पर्वको रूपमा मनाइने दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदै गर्दा नेपालको मौलिक संवत् नेपाल संवतको नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा भएको भन्दै उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको बताए ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् । उनले शुभकामना सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको पनि बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रूपमा रहेका सबैखाले अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । सभापति देउवाले नेपाल संवत् ११४० को पनि शुभकामना दिएका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले ९३७ साल (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवत सुरुवात गराउनुभएको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले बताए ।

प्रतिक्रिया दिनुहोस्