आज तिहारको पाँचौं दिन : भाइटीका लगाइँदै, उत्तम साइत कति बजे ?

काठमाडौं ,कात्तिक १२ । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदै छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाई भाइटीका मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको साइत खोज्नेका लागि बिहान ११ बजेर ५५ मिनेटको समय उत्तम रहे पनि आज दिनभर टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रंग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्