सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्दैछ : प्रचण्ड

काठमाडौं, कात्तिक १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ ले सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने दाबी गरेका छन् । वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार अगाडी बढिरहेको उनले बताए ।

नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
, ‘अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ उनले भने ।

उनले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको दाबी गरे । उनले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए ।

अध्यक्ष प्रचण्डले नेपाल संंवत्लाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने ल्याए ।

आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाई राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको ३० हजारको ऋण मिनाहा गरिदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्