मोतिहारीदेखि चितवनसम्म एलपिजी ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण गरिने

काठमाडौं, कात्तिक ९ । भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन निर्माण गरिने भएको छ।


शनिबार अमलेखगञ्ज पुगेर उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले निगमको अमलेखगञ्ज डिपो परिसरमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई बिस्तार गरी चितवन लोथर र्पुयाउने कार्यको शुभारम्भ गरका छन् ।

मोतिहारीदेखि अमलेखगञ्जसम्म हालै पेट्रोलियम पाइपलाइन निर्माण गरिसकिएको छ। नेपाल आयल निगमका अनुसार अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गर्न लागिएको हो।

पाइपलाइन निर्माण भएपछि प्रतिघण्टा पेट्रोलियम पदार्थ २९० किलोलिटर ढुवानी गर्न सकिन्छ भने करिब एक सय टन प्रतिघण्टा ग्यास ढुवानी गर्न सकिन्छ। लोथरमा पेट्रोलियम पदार्थ एक लाख किलोलिटर र २० हजार मेक्ट्रिकटन ग्यास भण्डारण क्षमताको ठाउँ बनाइने निगमको तयारी छ

यस्तै मोतिहारीदेखि चितवनसम्म बेग्लै एलपिजी ग्यास पाइपलाइन पनि निर्माण गर्न लागिएको छ। उक्त योजनाका लागि सर्भे गर्ने कामको सुरूवात भएको मन्त्री यादवले घोषणा गरेका हुन्। लोथरमा एलपिजी ग्यास भण्डारण गर्ने ठाउँ पनि निर्माण गर्ने निगमको योजना छ।

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइनको दुरी ६२ किलोमिटरको हुनेछ। एलपिजी ग्यास पाइपलाइन चितवनदेखि अमलेखगञ्ज हुँदै मोतिहारीसम्म ९८ किलोमिटर दुरीको हुने निगमले जनाएको छ।

पेट्रोलियम पाइपलाइन निर्माणमा करिब पाँच अर्ब रूपैंया र भण्डारण ठाउँ निर्माणमा चार अर्ब रूपैंयाभन्दा बढी लगानी लाग्ने निगमले जानकारी दिएको छ।

यस्तै एलपिजी ग्यास पाइपलाइन निर्माणमा करिब ११ अर्ब रूपैंया र भण्डारणमा तीन अर्ब रूपैंयाँ लगानी चाहिन्छ।

प्रतिक्रिया दिनुहोस्