मेलम्चीको पानी वितरणका लागि निर्माणको काम नब्बे प्रतिशत सम्पन्न

काठमाडौं, कात्तिक ८ । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि आवश्यक निमार्णको काम अन्तिम चरणमा पुगेकोे छ ।

मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्ने भएको छ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भै सकेको जनाइएको छ ।

आयोजनाको जम्मा कामको ९५ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी पाँच प्रतिशत कामका लागि ठेक्का सम्झौता भएको हो । दुई महिना पहिले १५ महिनामा काम गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले काम शुरु गरेको दिनदेखि १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको पन्तले बताए । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सरकारको योजना छ ।

मेलम्चीको सहायक परियोजना–१ अन्तर्गत सुरुङ निर्माण हुँदै प्रशोधन केन्द्रसम्मको निर्माण रहेकामा दोस्रो चरणमा प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर–घरसम्म पु¥याउने काम भै रहेको छ । सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ । पानी सङ्कलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण भइरहेको छ ।

मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड पानी सङ्कलन, वितरण हुँदै फोहर पानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको हो । यस चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ ।

काठमाडौँका चोकहरुमा एउटा दिशाबाट अर्को दिशामा पाइप लैजानका लागि ‘क्रसिङ’ गर्नुपर्नेमा अधिकांश स्थानमा सकिएको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पुतलीसडक, कलङ्की, दरबारमार्गलगायत नौ चोकमा निर्माण गर्न बाँकी रहेकामा यी स्थानमा अब अघि बढ्ने परियोजना निर्देशक भोजविक्रम थापाले बताए ।


आयोजनाले मुख्य, सहायक र वितरण गरी तीन किसिमका पाइपलाइन बिच्छ्याइरहेको छ । जसमध्ये घर–घरमा पुग्ने वितरण पाइप जडानको काम झण्डै ८९० किलोमिटर सकिएको र झण्डै २०० बाँकी रहेको आयोजनाले जनाएको छ ।

पाइप लाइन विस्तारसँगै आयोजनाले पाइपहरुको जाँच गरिरहेको निर्देशक थापाले बताए । अहिले वाग्मतीको पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर नयाँ जडान भएका पाइपहरुको जाँच भइरहेको हो । नियमितरूपमा भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानै पाइपमार्फत वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्