आलमको फैसला लम्बियो, अझै आठ दिन थुनामै राख्न अदालतको अनुमति

काठमाडौं, कात्तिक ८ । नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

छानबिन गर्न प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत रौतहटमा पेश गरेको निवेदनमा अदालतले सहमति जनाएको हो ।

रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप आठ दिनको म्याद थप गरेको अदालतका श्रेष्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

यसअघि थपिएको ५ दिनको म्याद हिजो सकिएपछि आलमलाई आज अदालत लगेर म्याद थप गरिएको हो ।

भोलिदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गर्न लागिएको हो ।

आलम गत असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न लागिएको हो ।

आलम रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरुलाई इट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका हुन् ।

पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ ।

पहिलो संविधानसभा निर्वाचन आउनै लाग्दा २०६४ फागुन २७ गते आलम नेतृत्वको समूहले बनाउन लागेको बम विष्फोट हुँदा केही व्यक्तिको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । घाइतेहरुलाई आलमको आदेशमा सिरिन्ज लगाई जिउँदै भट्टामा जलाएर मारेको पीडितहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्