तीन वर्षभित्रमा सबैको घरमा बिजुली बल्छ , अब कसैले पनि अन्धकारमा बस्न पर्दैन : ऊर्जामन्त्री पुन

काठमाडौं, कात्तिक ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाले आज आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । साथै उनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने जानकारी समेत दिए ।


मन्त्री पुनले सो कामका लागि चालू आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको बताउँदै ४१ जिल्लामध्ये चितवन पनि पर्ने बताए ।


कार्यक्रममा अर्को प्रसंगमा उनले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको उल्लेख गरे ।
‘दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ ।’ उनले भने ।

सबै स्थानमा डेढमिटर पानी भएमा २५० देखि ३०० कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्ने अध्ययनले देखाएको उनको भनाइ थियो ।

कोशी नदीभन्दा नारायणी अझ राम्रो देखिएको भन्दै उनले यसबाट पनि भरतपुरको सम्भावना अरु बढी रहेको बताए । मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट सडक बत्तीको अवधारणालाई अगाडि बढाइएको बताए । मन्त्री पुनले रु २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी दिए ।

नेपाल सरकारले एउटा नमूना परियोजनाका रुपमा भरतपुरमा स्मार्ट सडक बत्ती जडान हुँदै गरेको बताउँदै आकाशमा जहाजमा उड्नेले पनि उज्यालो भरतपुर देख्ने बताए ।


ऊर्जामन्त्री पुनले सरकार कानून निर्माण र सङ्घीय व्यवस्थाअनुरूप तीनवटा तहको सरकार सञ्चालनको सिकाइमा रहेको र योजनाबद्ध र दिगो विकासको लक्ष्यसहित अगाडि बढिरहेको बताए ।


उनका अनुसार यसवर्ष सरकारले नदी नियन्त्रण र तटबन्धनको लागि करीब रु ६ अर्बको बजेट विनियोजन गरेको छ । उनले नारायणी तटबन्धनका लागि बजेट अपुग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्