हिमालय एयरलाइन्सल पहिलोपटक काठमाडौं र बेइजिङ सिधा हवाई उडान गर्दै

काठमाडौं , कात्तिक ५ । हिमालय एयरलाइन्सले पहिलोपटक काठमाडौं र बेइजिङ सिधा हवाई उडान गर्ने भएको छ ।


हिमालय एयरलाइन्सले आगामी आइतबार (१० कात्तिक) बाट काठमाडौं–बेइजिङ सिधा उडान गर्ने भएको हो । नेपाली बिमानले बेइजिङमा सिधा उडान गर्न लागेको यो पहिलोपटक हो ।
काठमाडौं–बेइजिङ उडान समय करीव सवा ५ घण्टाको हुने भएको छ । नेपालबाट सातामा कति उडान हुने भन्नेबारे भने कम्पनीले विस्तृत सार्वजनिक गरेको छैन ।

विगतमा नेपाल वायुसेवा निगमले चीनको सांघाईबाट ट्रान्जिट बसेर जापानसम्म उडान गरेको थियो । त्यसबाहेक कुनै पनि नेपाली कम्पनीले चिनियाँ शहरमा काठमाडौंबाट सिधा उडान गर्न सकेका थिएनन् । हिमालय एयरलाइन्सले यस उडानलाई ऐतिहासिक सुरुवातको संज्ञा दिएको छ ।

अहिले चीनबाट नेपालमा ५ वटा वायुसेवा कम्पनीले काठमाडौंमा उडान गर्छन् । तर, ती कुनै पनि वायुसेवाले बेइजिङसँग काठमाडौलाई जोड्न सकेका छैनन् । बेइजिङ उडान नेपाल भ्रमण वर्षको अभियानमा समेत महत्वपूर्ण सावित हुने हिमालय एयरलाइन्सको विश्वास रहेको छ ।


पहिलो उडानपछि विस्तृतमा जानकारी गराउने योजना रहेको कम्पनीका एक कर्मचारीले जानकारी दिए । अहिले यस रुटमा एयरबस ३२० जहाजबाटै उडान गर्ने योजना हिमालयको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्