नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज

काठमाडौं, कार्तिक ४ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्नुहुने सडक विभागले जनाएको छ ।

यसअघि जलविद्युत र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक सुरुङमार्ग निर्माण हुन लागेको हो । यो मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजनाले जनाएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ समेत बनाउन लागिएको छ ।
सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साढे तीन वर्षमा काम सक्न सम्झौता गरेको छ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग –जाइकाृ ऋण सहयोगमा साढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु भएको थियो । यसका लागि २२ अर्ब रुपैयाँ लाग्नेमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र छ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि सुरु गरिने पनि आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्