चीनले नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने

काठमाडौं , कात्तिक ३ । चीनले नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने भएको छ ।
मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामाग्री चीनले नेपाली सेनालाइ उपलब्ध गराउने भएको हो ।

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका रक्षा मन्त्री जनरल वेइ फेंघेबीच बेइजिङमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा चीनले उक्त सहयोगसम्बन्धी प्रस्ताव गरेको थियो । सोहीअनुसार आइतबार नेपाली सेनालाई १५० मिलियन युआनबराबरको सामग्री उपलब्ध गराउने सम्झौतापत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको हो ।

सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीको विवरणका आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुने जनाइएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर हुनुअघि उपप्रधानमन्त्री पोखरेल र चिनियाँ रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्