राष्ट्रपति भण्डारीको म्यान्मा राजकीय भ्रमण सम्पन्न, ५ गतेसम्म जापान जाने


काठमाडौं , कात्तिक ३ । म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा भएको राष्ट्रपति विद्यादेवी भण्डारीको पाँचदिने राजकीय भ्रमण पूरा भएको छ । उनी गत असोज २९ गते म्यानमा पुगेकी थिइन् । उनले आजदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमण गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गरेका थिए ।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम (रत्न पत्थर आदि सङ्ग्रहालय)को अवलोकन गर्यो । त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि भयो ।

यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान गर्यो जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने छ । श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरिन् ।

राष्ट्रपतिसँग नेपाली मूलका बर्मेलीहरुसँग भेटघाट हुनाका साथै म्यान्मा नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा विचार गोष्ठी पनि सम्पन्न भएको छ ।

नेपालका लागि म्यान्माका राजदूतले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेका थिए । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस्