महराले सांसदबाट राजीनामा नदिने : लिए नेकपाको निर्देशन नमान्ने अडान

काठमाडौं , कात्तिक ३ । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् ।

आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् ।

दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए ।

उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनीनिकट नेता बताउँछन् ।

उनको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने, ‘मैले किन राजीनामा दिने ? म अहिले नेकपामा छैन, त्यही भएर सो पार्टीको सुझाव मान्न म बाध्य छैन ।’

महराको भनाइसँग नेकपाका प्रमुख सचेतक देव गुरुङको धारणा पनि मिल्न गएको छ ।

प्रमुख सचेतक गुरुङले महरा नेकपामा नरहेकाले पार्टीको सुझाव मान्न बाध्यता नभएको बताए । ‘सभामुखमा चयन भएपछि उहाँले पार्टीबाट राजीनामा दिनुभएको थियो ।

पछि फेरि उहाँ पार्टीमा जोडिनुभएको थाहा छैन,’ उनले भने, ‘पार्टीमै नभएका व्यक्तिलाई नेकपाले सुझाव दिने हो, दबाब दिन वा निर्देशन दिन मिल्दैन ।’

सभामुख र उपसभामुख नियुक्त हुँदा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी थिए ।

तत्कालीन माओवादी केन्द्रका तर्फबाट महरा सभामुख बनेका थिए भने एमालेबाट डा. शिवमाया तुम्वाहाम्फे उपसभामुख बनिन् । (राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्