तेस्रो कलेजो प्रत्यारोपण सफतापूर्वक सम्पन्न

काठमाडौं ,कात्तिक २ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ ।

शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो ।

प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रत्यारोपण चिकित्सक प्राडा रमेशसिंह भण्डारीको टोलीले करीब आठ घण्टा लगाएर सो प्रत्यारोपण गरेको थियो । प्राडा भण्डारीका अनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रो पटक सफतापूर्वक सम्पन्न भएको हो ।


गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो ।


पहिलो प्रत्यारोपणमा ३३ वर्षीया छोरीले ५८ वर्षीय आफ्ना पितालाई कलेजो दिएकी थिइन् । “हामी अस्पतालमा कलेजो प्रत्यारोपणलाई नियमित बनाउने तयारीमा छौं, महिनामा कम्तिमा एउटा कलेजो प्रत्यारोपणको लक्ष्य लिएका छौँ”, उनले भने ।


विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ । प्राडा भण्डारीका अनुसार करिब रु २५ लाखमा कलेजो प्रत्यारोपण गर्न सकिने छ । आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजोदान गर्न सक्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्