देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ , कात्तिक २ । आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तगर्त भिटामिन ‘ए’ खुवाइन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा आज(शनिबार) र भोलि (आइतबार) कात्तिक २ र ३ गते यो कार्यक्रम सञ्चालन हुँदैछ ।

कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), ६ महिनादेखि दुई वर्ष्भित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन भएका छन् ।

मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुवात भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताए । उनले भने “भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।

प्रतिक्रिया दिनुहोस्