बयान दिन मानेनन् महराले, प्रहरी भन्छ….
काठमाडौं , कात्तिक १ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन् ।
‘‘हामीले उहाँलाई अस्पतालकै बेडमा गएर पटक–पटक बयानका लागि आग्रह गर्यौं तर उहाँले बोल्दिन भन्नुभएको छ । संविधानले नबोल्ने अधिकार दिएको पनि छ । तर प्रमाणबाट हामीले उहाँले यौन दुर्व्यवहार गरेको पुष्टि गर्छौं ।’’ अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले भने ।
शनिबारसम्ममा महराले बयान दिन सक्ने अवस्था अन्त्य भइसकेको छैन । ती प्रहरी अधिकारीले भने, ‘‘बयानमा जबरजस्ती गर्ने कुरा भएन । बोल्ने–नबोल्ने उहाँको स्वतन्त्रताको कुरा हो ।
कुनै पनि अभियुक्तले अदालतमा बयान दिन्न भन्न पाउने व्यवस्था फौजदारी कानुनले नै सुरक्षित गरेको छ । मौनताको अधिकार फौजदारी न्यायको सिद्धान्तमा सामान्य मानिने वरिष्ठ अधिवक्ता यदुनाथ खनाल बताउँछन् ।
रोशनीले आफूमाथि महराले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपछि महरा पक्राउ परेका हुन् । पक्राउअघि नै उनले सभामुखबाट भने राजीनमा दिएका थिए ।
अदालतबाट म्याद लिएर प्रहरीले महरामाथि अनुसन्धान गरिरहेको छ । अब महरालाई आइतबार फेरि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्