फेरि एकचोटी आन्दोलन गर्ने इच्छा छ: अध्यक्ष प्रचण्ड
काठमाडौं, असोज ३० । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताएका छन्।
समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको प्रचण्डले बताए।
‘हामी त जीवनको उत्तरार्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ,’ बिहीबार गृहजिल्ला चितवनमा आयोजित चियापान कार्यक्रममा उनले भने, ‘यो महान उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि। प्रतिक्रान्ति यसरी रोकिन्छ भनेर उदाहरण दिन पनि सक्छौं।’
उनले नेताहरू र पार्टीमा अलिअलि धुलोमैलो लागेको पनि बताए।
‘फेरि एकचोटी राष्ट्र, जनताको हितमा समर्पित भएर अब काम गर्छु भनेर दह्रोसँग संकल्प लियौं भने सकिन्छ। हामीमा अहिले अलिअलि धुलोमैलो लागेको मात्र हो,’ उनले भने, ‘हामीलाई कामै नलाग्ने गरी क्यान्सर भएको छैन। उपचार नै नलाग्ने गरी क्यान्सर भएको भन्न खोजेको होइन। ग्यास्टिक, अल्सर त्यतिसम्म होला क्यान्सर भएको छैन। त्यसको उपचार छ। बेलैमा उपचार गरौं। हामी माथि समीक्षा गर्दै छौं।’
कम्युनिष्टहरू सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेको पनि उनले बताए।















प्रतिक्रिया दिनुहोस्