राजपा सांसद साहलाई छाड्न माग गर्दै सर्लाही सदरमुकाम बन्द, टायर बालेर प्रदर्शन

काठमाडौं, असोज ३० । राजपा सांसद साहलाई छाड्न माग गर्दै आज सर्लाही सदरमुकाम बन्द गराएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सर्लाही सदरमुकाम मलङ्गवा बजार बन्द गराएको हो ।
जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभाका सांसद प्रमोद साहको रिहाई माग गर्दै राजपाले मलंगवा बन्द गराएको हो ।

बन्दका कारण मलंगवाका कुनै पसल व्यवसाय खुलेका छैनन् । गाडी पनि बन्द छन् । राजपाका नेता कार्यकर्ताले नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका छन् । आन्दोलनलाई मध्यनजर गर्दै सुरक्षा सर्तकता बढाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

मलङ्गवास्थित खुटौना निवासी सांसद साह सर्लाही क्षेत्र नम्वर १ का सांसद हुन् । साह निर्वा्चित भएको क्षेत्रको अवस्था भने सामान्य छ ।

सांसद साहले बुद्ध एयरको विमानले समयमै उडान नभर्दा उपचारका लागि काठमाडौं जान लागेका एक बिरामीको अवस्था गम्भीर भएपछि आक्रोशित भएर तोडफोडमा उत्रिनुपरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्