लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भट्टराई

काठमाण्डौं, असोज ३० । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।


बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।


मन्त्री भट्टराईले सबै भाषा, जाति, संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि सरकारले संवैधानिक अंगहरुको व्यवस्था गरेको पनि स्पष्ट पारे ।

सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्नका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको स्थापना गर्नुपरेको उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नयाँ पुस्तालाई हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्नेगरी भाषा आयोग, महिला आयोग, मधेशी आयोग र विभिन्न प्रतिष्ठानहरुको गठन गरिएको बताउँदै ती प्रतिष्ठानले खोज र अनुसन्धानको कामलाई निरन्तरता दिइरहेको पनि स्पष्ट पारे ।

‘अझै पनि कतिपय जातिहरुको पहिचान हुन बाँकी होला, कतिपय हाम्रा भाषाहरु लोप हुन लागेका होलान्,’ मन्त्री भट्टराईले भने , ‘तिनीहरुको संरक्षण र सम्बर्द्धन गर्ने दायित्व सरकारको हो ।’ कार्यक्रममा मन्त्री भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ(संस्थाले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्द्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले सरकारले सांस्कृतिक सम्पदाहरुको संरक्षण हुने गरी ‘सांस्कृतिक नीति’ बनाएकोमा खुसी व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्