नेपाल र यूएईका श्रममन्त्रीबीच भेटवार्ता, नेपाली श्रमिकका समस्याका बारेमा चासो

काठमाडौं, असोज २९ । नेपाल र यूएईका श्रममन्त्रीबीच यूएईमा भेटवार्ता भएको छ ।


मंगलबार यूएई जानु भएका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उनका समकक्षी यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच बुधबार आबुधाबीमा भेटवार्ता भएको हो ।

बुधबारदेखि दुबईमा सुरु हुने मन्त्रीस्तरीय पाँचौँ आबुधाबी डायलगमा सहभागी हुन मन्त्री विष्ट त्यहाँ गएका हुन् ।


भेटका क्रममा नेपालका तर्फबाट मन्त्री विष्टले नेपाली श्रमिकका समस्याका बारेमा चासो राखेका छन् ।


यता जवाफमा नेपाली श्रमिकका विषयमा यूएई गम्भीर र सुधारका प्रयासमा सकारात्मक भएको यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले प्रतिक्रिया दिए ।


भेटघाटपछि मन्त्री विष्टले यूएईसँगको श्रम सम्झौता कार्यान्वयन सम्बन्धमा नोभेम्बर पहिलो हप्ता दुई देशका संयुक्त कार्य समितिको बैठक नेपालमा बस्ने गरी सहमति भएको बताए ।


मन्त्री हम्लीले नेपाल र नेपालीले यूएईलाई दिएको योगदानको प्रशंसा गर्दै द्विदेशीय सम्बन्ध विकासमा यूएई प्रतिबद्ध रहेको बताउँदै सहयोग र सहकार्य गर्ने जनाएको भेटघाटमा सहभागी यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए ।


भेटघाटमा दुई देशका मन्त्रीसहित, श्रम मन्त्रालयका सचिव बिनोद केसी र राजदूत कृष्णप्रसाद ढकाल पनि सहभागी भएको नेपाली दूतावास आबुधाबीकी उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्