सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी

कठमाडौं, असोज २८ । सुदूरपश्चिम विश्वविद्यालयमा सात महिनादेखि तालाबन्दी गरिएको छ । सात नम्बर प्रदेशस्तरको एक मात्रै विश्वविद्यालयमा सात महीनादेखि तालाबन्दी यथावत नै रहेको हो ।

कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा लागेको तालाबन्दी खोल्नेमा भने अहिले सम्म कसैले चासो दिएका छैनन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय र रजिष्ट्रारको निवासमा ताला लागेको आधा वर्ष बितिसक्दा पनि ताला खुलाएर विश्वविद्यालयको कामकाज अगाडि बढाउने सुरसारसमेत देखिएको छैन । जिल्लास्तरमा सर्वदलीय संयन्त्र र स्थानीय प्रशासनसम्मको पहलले विश्वविद्यालयको तालाबन्दी नखुल्दा त्यहाँ कार्यरत कर्मचारी भने अहिले खाली बसेका छन् ।


नौ वर्षअघि जन्मिँदै लामो हड्ताल र आन्दोलनबाट स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको कलह अझै नसकिएको त्यहाँ अध्ययनरत विद्यार्थीको भनाई रहेको छ ।


गत चैत अन्तिम साता नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार निलम्बन गरी नयाँलाई जिम्मेवारी दिइएपछि तालाबन्दी थालेको हो । विद्यार्थीको आन्दोलनलाई यहाँस्थित एकथरि विश्वविद्यालय प्राध्यापक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घले समेत सर्मथन जनाएको विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले बताए ।


विद्यालयमा यसरी लामो समय सम्म तालाबन्दी हुँदा अहिले कामकाज प्रभावित बनेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चार हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्