चिनियाँ टोलीले फेरि दोस्रो चरणमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने

काठमाडौं, असोज २७ । चिनियाँ टोलीले फेरि दोस्रो चरणमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने भएको छ ।

नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु गर्ने भएको हो ।


अन्वेषण पछि कुन भू–भागमा कति पेट्रोलियम पदार्थ रहेको छ भन्ने पत्ता लाग्ने बताइएको छ। चीन सरकारको विशेषज्ञ टोली दशैँअघि दोस्रोपटक दैलेख आएको छ।


दोस्रो चरणको अन्वेषणका लागि चीनबाट आवश्यक सामग्रीहरु दशैँलगत्तै काठमाडौँ आउने र सामग्रीसहित दशैँपछि टोली दैलेख आउने भएको अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले जानकारी दिए।

उत्खनन कार्यका लागि आवश्यक पर्ने इन्धनलगायतका सामानहरुको व्यवस्थापनसँगै उत्खनन समयमा विशेषज्ञ टोली बस्ने स्थानको समेत छनोट भइसकेको छ। टोलीले प्रजिअ, दैलेखका सांसद, निर्वा्चित जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गरेर काठमाडौँ फर्केको र दशैँ सकिएलगत्तै काम शुरु हुने बताएको छ।

असार २६ गते औपचारिक उद्घाटनसँगै दैलेख आएको चीन सरकारको विशेषज्ञ टोली करीब १५ दिन अनुसन्धान गरेर फर्केको थियो।

उक्त समयमा दैलेखका विभिन्न भू–भागहरुको स्थलगत अध्ययनसमेत गरिएको थियो। पुनः असोज दोस्रो सातामा टोली दैलेख आएर अन्वेषणका लागि आवश्यक पर्ने विषयहरुमा छलफल गरेको प्रजिअ युवराज कट्टेलले जानकारी दिए।

नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौताअनुसार काम शुरु भएको यो परियोजना परिणामुखी हुने र नेपालको आर्थिक अवस्था सुधारसँगै समग्र दैलेख जिल्लाको विकासमा टेवा पुग्ने प्रतिनिधिसभाका सांसद रवीन्द्रराज शर्माले जानकारी दिए।

जिल्लाका निर्वा्चित जनप्रतिनिधि र स्थानीय सरकारले अन्वेषण कार्यका लागि सबै तह र तप्काबाट सहयोग गरेर अन्वेषणको काम सफल बनाउनेतर्फ अगाडि बढेको प्रदेशसभा सदस्य अमरबहादुर थापाले बताए।


पेट्रोलियम पदार्थमा पूर्णरुपमा विदेशमा निर्भर रहनुपर्ने नेपालका लागि स्वदेशमै उत्खनन हुनु आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हुनसक्ने विश्वास गरिएको छ।

दैलेख जिल्लामा पेट्रोलियम पदार्थ रहेको विभिन्न अध्ययन–अनुसन्धानबाट थाहा भए पनि अझै यसको गहन अध्ययन र उत्सखनन हुन सकेको छैन।

चिनियाँ विशेषज्ञ टोलीसहित नेपाली विशेषज्ञहरुको पहलमा यसपटक गरिने अन्वेषणबाट अगामी दिनमा उत्खननका लागि सजिलो हुनेछ।

प्रतिक्रिया दिनुहोस्