डा. केसीले राखे ६ बुँदे माग , पुरा नभए अनशन बस्ने दिए चेतावनी

काठमाण्डौ , असोज २७ । कात्तिक १३ गतेदेखि अनशन बस्ने डा. गोविन्द केसीले चेतावनी दिएका छन्। यसअघिका सहमति कार्यान्वयन लगायतका माग गर्दै प्राध्यापक डाक्टर केसीले फेरि अनशन बस्ने चेतावनी दिएका हुन् ।


त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको २६ वर्षे सेवाबाट उमेर हदका कारण अवकाश पाएको दिन सोमबार पत्रकार सम्मेलन गरी उनले ६ बुँदे माग पूरा नभए कात्तिक १३ गतेदेखि अनशन बस्ने चेतावनी दिएका छन् ।


उनले २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी नियुक्तिको प्रक्रिया रोकि मापदण्ड निर्धारण समितिले यसअघि दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने आन्दोलनरत मेडिकल विद्यार्थीका माग पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकलाई फौजदारी कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।


यस्तै, संसदीय उपसमितिले गरेको शुल्क र सीट संख्या बढाउने निर्णय तत्काल खारेज गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति र्पुयाएर एमबीबीएको अध्ययन एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति दिनुपर्ने, प्रदेश नम्बर २ र चार तथा डोटी डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञलाई नियुक्त गर्नुपर्ने डाक्टर केसीको माग छ ।


चिकित्सा शिक्षामा सुधारका चार बुँदे माग राखेर २०६९ सालमा पहिलो अनशन बसेका डाक्टर केसीले १६ औँ अनशन इलाममा बसेका थिए । केसी विभिन्न समयमा विभिन्न विषय वस्तुमा माग राख्दै आन्दोलन गर्दै आरहेका छन् । फेरि पनि माग सहित अनशन बस्ने उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्