नेपालमा यसै वर्ष रेल, मेची–काली रेलमार्ग धमाधम बन्दै 

काठमाडौं । झण्डै नौ वर्षअघि सम्भाव्यता अध्ययन सम्पन्न भएको मेची–महाकाली रेलमार्गको काम धमाधम भइरहेको छ ।

सन् २००९ मा पूर्व–पश्चिम नौ सय ४६ किलोमिटर रेलसहित काठमाडौं–पोखरा १ सय ८८ किलोमिटर रेल मार्गको पनि सम्भाव्यता अध्ययन भएको थियो । रेल मार्गको लागि ९ वर्षसम्ममा कुल ८ अर्ब ६३ करोड रुपैयाँ खर्च भइसकेको छ ।

कुल ६ सय १९ किलोमिटर लामो रेल मार्गको डीपीआर पनि सम्पन्न भइसकेको छ । अहिलेसम्म विभागले पूर्वदेखि पश्चिमसम्म कुल ९ खण्डमा विभाजन गरेर डीपीआर तयार पारेको जनाएको छ । अहिलेसम्म कुल पाँचवटा कन्सल्टेन्टहरुले बुटवल पूर्व सबै खण्डको डीपीआर सम्पन्न भइसकेको र बाँकी चार खण्डको पनि डीपीआरको काम सुरु भइसकेको उल्लेख छ ।

इन्जिन किने नेपालमा यसै वर्ष रेल

भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर–जननगर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनविज्ञ छ ।

राजधानी दैनिकको खबर अनुसार, सरकारले इन्जिन किने यसै वर्ष नेपालमा रेल गुड्ने छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिन खरिदको विषयमा छलफल समेत सुरु हुन सकेको छैन ।

झण्डै चार वर्षदेखि बन्द जनकपुर–जननगर रेलमार्गको ३४ किलोमिटर निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागलाई उद्धृत गर्दै खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्