विद्युतको स्मार्ट मिटर जडानका लागि सर्वेक्षण सुरु, अब घर–घरमा स्मार्ट मिटर
काठमाडौं, असोज १४ । नेपाल विद्युत प्राधिकरणले उपभोक्ताका घरमा स्मार्ट मिटर जडान गर्न सर्वेक्षण सुरु गरेको छ।
प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करिब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्ने तयारी गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरिङलाई महत्वाकांक्षी योजनाका रुपमा अगाडि बढाएका हुन्।
स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामाजस्तै स्वचालित बिलिङ लागू हुनेछ। जसले गर्दा मिटर रिडिङको लागत घट्ने छ।
यसबाट वितरण सेवालाई आधुनिकीकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली संचालन दक्षता बढाउने छ।
ठेकेदार कम्पनीले ग्राहकका घरघरमा गएर डाटा संकलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए। उनले डाटा संकलन गर्न आउने सर्भेयरलाई आवश्यक जानकारी उपलब्ध गराइदिन आग्रहसमेत गरे।
नेपाल सरकारको लगानी र एसियाली विकास बैंक एडिबीको सहुलितपूर्ण ऋणमा स्मार्ट मिटर जडान प्रणालीलाई काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाइएको हो। स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने प्राधिकरणको योजना छ।
रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र संचालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डम ज्वाइन्ट भेन्चरले ठेक्का पाएको छ। यो काम आगामी वर्षको पुसभित्र सक्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया दिनुहोस्