नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता

काठमाडौं , असोज १४ । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को क्यानडा मन्ट्रियलस्थित प्रधान कार्यालयमा मंगलबार द्विपक्षीय सम्झौता भएको हो ।

नेपाल र अष्ट्रेलियाबीचको हवाई सम्झौता अनुसार दुवै देशका एयरलाइन्सहरुले जुनसुकै प्रकारको वायुयानबाट हप्तामा सात उडान गर्न पाउने छन् ।

नेपालका तर्फबाट पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलका संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपालले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने बताइएको छ । यस्तै, अष्ट्रेलियन एयरलाइन्सले काठमाडौंमा हप्तामा सात उडान र बाँकी २८ उडान पोखरा, गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल लगायतमा उपयोग गर्न पाउने छन् ।

यो सम्झौताले नेपाल वायुसेवा निगम (नेवानि) लाई अष्ट्रेलियामा उडान भर्न बाटो खुलेको छ । नेवानिले यसअघि वाइडवडी जहाज मार्फत् अष्ट्रेलियाली शहरमा उडान भर्ने योजना रहेको बताएको थियो ।

सिधा उडानको अभाव अहिले अष्ट्रेलिया जान चाहने नेपालीहरुले चीन, सिंगापुर, मलेसिया र खाडी मुलुकलाई ट्रान्जिट बनाएर जानुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्