राष्ट्रपतिको भूमिका निष्पक्ष भएन : राप्रपा अध्यक्ष राणा

काठमाडौं , असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेका कारण संवैधानिक राजसंस्थाको महत्व बढेको ठहर गरेको छ ।


दशै, लगाएत चाँडको अवसरमा शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयमा निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै जनतामा पुरानै संस्थाले निष्पक्ष भूमिका खेल्न सक्छ भन्ने भावना उत्पन्न हुन थालेको विचार व्यक्त गरे ।

राष्ट्रिय एकता, अखण्डता र विविधताबीचको एकतालाई बलियो बनाउन राष्ट्राध्यक्षले अभिभावकीय भुमीका निर्वाह गनुपर्नेमा जोड दिदै अध्यक्ष राणले राष्ट्रपतिले कुनै एक पार्टीप्रति बफादार देखिएको टिप्पणी गरका थिए ।


जनताले नेकपालाई विश्वास गरेर जनादेश दिएको भएपनि वर्तमान ओली सरकारले जनतालाई धोका दिएको उनको भनाइ थियो । सरकारले हालै ल्याएको गुठी विधेयकले संस्कृतिको संरक्षणमा बाधा पु¥याउने, मिडिया विधेयकले स्वतन्त्रतालाई संकुचित बनाउने खतरा रहेका कारण प्रतिपक्ष पार्टी तथा जनताले त्यसको विरोध गरेको स्मरण गरे ।


प्रजातन्त्रमाथि खतराका संकेत देखा पर्न थालेकाले प्रजातन्त्र जोगाउन अब कम्युनिष्ट शक्तिकाबिरुद्ध प्रजातान्त्रिक शक्ति एकतावद्ध हुनसक्ने भन्दै अध्यक्ष राणाले चीन र अमेरिकाबीचको तनावका कारण नेपाललगायत दक्षिण एसियामै असर परेकोले परराष्ट्र नीतिमा सरकारलाई कुटील बन्न सुझाव दिए ।


संविधानको प्रस्तावनामै ‘समाजवाद उन्मुख अर्थतन्त्र’ लेखिएकाले सरकारले जति पटक लगानी सम्मेलन गरेपनि आन्तरिक निजी क्षेत्र र वैदेशिक लगानी आउने नसकेको भन्दै राप्रपा संयुक्तले संविधानको प्रस्तावनाबाट समाजवाद उन्मुख अर्थतन्त्र हटाउन माग गरेको छ ।


अध्यक्ष राणाले मुलुक र जनताको उन्नति र विकासका लागि सरकारले कुनै पनि खालको ठोस कदम चाल्न नसकेको दावी गरे । दुईतिहाइको सरकारले विकासका लागि केहि पहल नगरेको बताए । जनताले विकास र उन्नती चाहेको बताउँदै उनले यस्तोमा सरकार असफल भएको बताए ।


पार्टीले हिन्दू राष्ट्रको पक्षमा जनमत सृजना गर्न दशैं तिहारलगत्तै ‘जनकपुर–लुम्विनी धार्मिक यात्रा’ आयोजना गर्ने जनाएको छ ।

पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको पक्षमा जनमत सृजना गर्न तिहारलगत्तै सो धार्मिक यात्रा गरिन लागेको हो । अभियानमा सबैलाई सहयोग, सद्भाव र सहभागिताका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्