नेपाल र भारतबीच व्यापार सन्धि पुनरवलोकन गर्ने सहमति

काठमाडौं, असोज ११ । नेपाल र भारतबीच व्यापार सन्धि पुनरवलोकन गर्ने सहमति भउएको छ । नेपाल र भारतबीचको व्यापार सन्धि पुनरवलोकन गर्न दुई देशबीच सहमति भएको हो ।


शुक्रबार दुई देशबीच तेश्रो चरणको छलफलपछि भारत व्यापार सन्धि पुनरवलोकन गर्नका लागि सहमत भएपछि यस्तो सम्झौता भएको हो।


नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरवलोकनसम्बन्धी तेस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्सीय वार्ता टोली भारत गएको थियो।

नेपाल र भारतबीचको व्यापार सन्धि हरेक सात–सात वर्षमा नवीकरण हुने व्यवस्था छ। सन् २००९ मा भएको दुई देशबीचको व्यापार सन्धि सन् २०१६ मा थप सात वर्ष अर्थात् २०२३ सम्मका लागि नवीकरण भएको थियो। व्यापार सन्धिमा दुईदेशको सहमतिमा त्यसलाई पुनरवलोकन गर्न सक्ने व्यवस्था रहेको छ।

अघिल्लो वर्ष जेठमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यापार र पारवहन सन्धि पुनरवलोकन र रेल सेवा सम्झौता गर्ने समझदारी भएको थियो। नेपालले भारतसँगको व्यापारमा भोग्दै आएको व्यापार घाटा न्यूनीकरण र दुई देशबीचको व्यापारमा सहजता खोज्नका लागि सन्धि पुनरवलोकनको कदम चालेको हो।

नेपाली वस्तुको भारतीय बजारमा सहज पहुँच, विभिन्न भन्सार नाकामा पूर्वाधार निर्माण, सुधार र विस्तार तथा भारतीय बजारमा नेपाली वस्तुलाई हुँदै आएको गैरभन्सार अवरोधको विषयलाई लिएर नेपालले सन्धि पुनरवलोकनका लागि पहल गर्दै आएको छ।

कृषि उत्पादनको क्वारेन्टाइनमा नेपालले भोग्दै आएको समस्या पनि व्यापार सम्झौताले समेट्नेछ। नेपालबाट निर्यात हुने अलैँची, जुट, अदुवा, चियालगायत वस्तुको भारतीय बजारमा सहज प्रवेशलाई व्यापार सन्धिको प्राथमिकतामा राखिएको छ।

सन्धि पुनरवलोकनसम्बन्धी सहमति जुटेसँगै केही समयभित्रै दुई देशबीच विस्तृत व्यापार सम्झौता हुनेछ। वार्षिक रूपमा नेपालको व्यापार घाटा बढ्दै गएका सन्दर्भमा यसअघि नेपाल–भारत सचिवस्तरीय अन्तरसरकारी समिति (आईजिसी)को सचिव स्तरीय र सहसचिवस्तरीय अन्तरसरकारी उपसमिति (आइजिएसी) बैठकमा सन्धि पुनरवलोकनका लागि विस्तृत छलफल भएको थियो।

सन् २००९ मा नेपालका तर्फबाट तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो र भारतका तर्फबाट वाणिज्य एवं उद्योगमन्त्री आनन्द शर्माले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्