पूर्वराष्ट्रपति यादवको उपचार खर्च सरकारले व्यहोर्ने, अन्य मन्त्रिपरिषदका निर्णयहरु यस्ता छन्

काठमाडौं , असोज ९ । सरकारले पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले पूर्वराष्ट्रपति यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

पूर्वराष्ट्रपति डा यादव अस्वस्थ भइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई अपराह्न ३ बजे अस्पताल लगिएको थियो । चिकित्सकको सुझावअनुसार उनलाई केही दिनका लागि भर्ना गरिएको छ ।

उनको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न छ ।

यस्तै एसिड आक्रमणबाट घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न तीन–तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले खड्का र खातुनलाई आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराएका हुन् े ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी उनलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषदका निर्णयहरु

१. नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ।

२. मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ।

३. एसिड आक्रमणबाट घाइते भएक जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ।

४. चितवन जिल्ला, भरतपुर महागरपालिका वडा नम्बर १६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि २०७६ मंसिर १४ गते शनिबार उपनिर्वाचन हुने गरी मिति तोक्ने र र सोको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरिएको छ।

५. नेपाली नागरिकहरू नारायणप्रसाद अर्जल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति दिइएको छ।

६. प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरिएको छ ।

७. उपरथी प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गर्ने निर्णय गरिएको छ ।

८. नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायलको हिब्रु लेखक संघबीच वाङ्मय आदानप्रदान तथा सहकार्य गर्ने सम्बन्धी प्रस्तावित समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई स्वीकृति दिइएको छ ।

९. नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

१०. शहरी पूर्वाधार विकास निगमको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।

११. राजकीय अतिथि गृह निर्माण गर्न तयार गरिएको गुरूयोजना स्वीकृत गरिएको छ ।

१२. पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रूपैया नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ ।

१३. सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्दे्शिका, २०७५ स्वीकृत गरिएको छ।

१४. एकल महिला सुरक्षा कोष (सञ्चालन) (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्