उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटनामा कमी आयो : पर्यटन मन्त्री भट्टराई

काठमाण्डौ , असोज ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताएका छन् ।


क्यानडाको मन्ट्रियलमा जारी अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि हवाई दुर्घटना दर घटेको बताएका हुन् ।


पछिल्लो समय नेपालले अपनाएको हवाई सुरक्षा सतर्कता, विमानस्थलको सुधार र मौसमी अवस्थालाई ध्यान दिएका कारण हवाई दुर्घटनामा कमी आएका उनले उल्लेख गरे ।
उनले युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग हातेमालो र सहकार्य गरिरहेको पनि बताए ।


हवाई क्षेत्रमा आएका नयाँ प्राविधिक आयामको भरपुर उपयोग गर्दै उड्डयन सुरक्षालाई चुस्त र दुरुस्त बनाउन थप हवाई सुरक्षा मापदण्ड कायम गरिएको मन्त्री भट्टराईको भनाई थियो ।

पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन प्राथमिकता प्राप्त उद्योग भएकाले हवाई सुरक्षालाई उच्चतम कार्य योजनामा राख्दै सम्पर्क विस्तार गर्ने, मौजुदा विमानस्थलको स्तरोन्नति र नयाँ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि सरकारले नयाँ रणनीतिका साथ सञ्चालन गर्न लागेको जानकारी गराए ।

उनले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको त्यस अवसरमा जानकारी गराउँदै सहभागिताका लागि सबैलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आइकाओ मुख्यालय मन्ट्रियलमा भएको महासभामा १९३ देशका प्रतिनिधि र एक हजारभन्दा बढी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । यही असोज सात गते अर्थात् (सेप्टेम्बर २४) देखि शुरु भएको महासभा आगामी असोज १७ (अक्टोबर ४ सम्म) चल्नेछ ।

महासभामा पर्यटनमन्त्री भट्टराई, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत सहभागी हुनुहुन्छ । महासभाको दौरानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग हवाई सम्झौता हुनेछ ।

त्यसैगरी अष्ट्रेलियासँग हवाई वार्ता हुने जनाइएको छ । नेपालले अष्ट्रेलियाको सिड्नी गन्तव्य सिधा उडानका लागि पहल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्