द्वन्द्वपीडितको देउवा र प्रचण्डप्रति गुनासो : भने- नेताले जनताका कुरा नसुने कसका लागि राजनीति गर्ने ?

काठमाडौं , असोज ९। कमलादीस्थित प्रज्ञा भवनमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा द्वन्द्वपीडितले नाराबाजी गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मन्तव्य राखेर बाहिरिन लाग्दा उनीहरुले नाराबाजी गरेका हुन् ।

व्यस्तताको कारण देखाएर देउवा कार्यक्रम नसकिँदै बाहिरिन खोजेका थिए । तर, कार्यक्रमका केही सहभागीले ‘हाम्रा कुरा नसुन्ने भए किन कार्यक्रममा आउनुपर्यो ? नेताले जनताका कुरा नसुने कसका लागि राजनीति गर्ने ? हामी कार्यक्रम बहिस्कार गर्छौं भन्दै नाराबाजी गरेका थिए ।


कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड नआएकोमा पनि द्वन्द्वपीडितले असन्तुष्टि जनाएका थिए ।

प्रचण्ड काठमाडौंबाहिर भएकाले कार्यक्रममा आउन ढिला भएको बताइएको छ । १० मिनेटको नाराबाजीपछि कार्यक्रम सुरु भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्