गैरकानुनी रुपमा ई-सेवामार्फत टिकट बिक्री गरे कारबाही हुने
काठमाडौं, असोज ९ । गैरकानुनी रुपमा ई-सेवामार्फत टिकट बिक्री गरे कारबाही हुने भएको छ ।
ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नम्बर प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ ।
प्रदेश सरकारले ई-सेवामार्फत हवाई टिकट काटेमा तत्काल २० हजार रुपैयाँ जरिबानासहित कारबाही गरिनेसमेत चेतावनी दिएको छ ।
प्रदेश नम्बर ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली त्यससम्बन्धी कार्य गरेमा वा गर्न खोजेमा प्रदेश नम्बर ५ पर्यटन ऐन २०७६ को दफा ११ को उपदफा १ अनुसार त्यस्तो एजेन्सी तत्काल बन्द गरी २० हजार जरिबानासमेत गर्ने बताएको छ ।
मन्त्रालयले ट्राभल तथा ट्रेकिङ एजेन्सीको दर्ता र नियमन गर्ने अधिकार प्रदेश सरकारलाई भएको उल्लेख गर्दै प्रदेश नम्बर ५ पर्यटन ऐन २०७६ को दफा ११ को उपदफा १ अनुसार कारबाही गर्ने बताएको हो ।
पर्यटन ऐनअनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता गर्दा कम्पनी रजिस्टार कार्यालयमा कम्पनीका रुपमा दर्ता गर्नुपर्ने त्यसका लागि न्यूनतम रु २५ लाख जारी पूँजी राख्नुपर्ने प्रावधान छ ।
यसैगरी पर्यटन कार्यालयमा पाँच लाख रुपैयाँ बैंक ग्यारेन्टी दिनुपर्दछ । २५ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने गर्दछ । त्यसपछि घरेलु, पर्यटन, आन्तरिक राजस्व कार्यालयमा समेत दर्ता गर्ने प्रावधान रहेको छ ।
मन्त्रालयले कसैले उक्त सूचनालाई नमानी अटेर गरी ई–सेवामार्फत ट्राभल एजेन्सीले गर्ने हवाई टिकेटिङको काम गरेको पाइएमा सख्त कारबाही गर्नेसमेत बताएको छ ।
मन्त्रालयले ई–सेवामार्फत टिकेटिङ गर्ने कार्यमा विमान सेवा कम्पनीले पनि सहयोग गरेकाले अब उप्रान्त ई–सेवामार्फत हवाई टिकट काट्ने कार्यमा सहभागी नहुन विमान सेवा कम्पनीलाई समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्