घटस्थापनादेखि सार्वजनिक यातायातमा एक साता रुट परमिट नचाहिने, यात्रु लिएर देशभर जान छुट

काठमाडौं , असोज ७ । सार्वजनिक यातायातमा एक साता रुट परमिट नचाहिने भएको छ ।
यही १२ देखि १९ गतेसम्म रुट परमिटबिना नै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न सकिने भएको हो ।

दसैंमा यात्रुको आवतजावतलाई ध्यान दिँदै यातायात व्यवस्था विभागले एक साता रुट परमिट बिना नै सार्वजनिक सवारी सञ्चालन गर्न सकिने व्यवस्था गरेको हो ।

“दसैंमा सवारी साधन र यात्रुको चापलाई ध्यानमा राखेर १२ देखि ७ दिनसम्म सार्वजनिक यातायातले रुट परमिट बिना नै सञ्चालन हुन पाउने व्यवस्था गरेका छौं,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “यो व्यवस्था लागू भएपछि कालो नम्बरप्लेट भएका सबै सवारी साधनले जुनसुकै स्थानमा पनि जान पाउने भएका छन् ।”


पाँच गतेबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुले पनि यात्रुहरु जाने स्थान र बससंख्या उपयुक्त नदेखिएको अहिलेको अवस्थामा फ्रि रुट परमिट लागू भएपछि यात्रुको संख्याअनुसार जुनसुकै स्थानमा पनि बसहरु सञ्चालन हुन पाउने भएका छन् ।

यो व्यवस्थाले धेरै यात्रु पाइने तराई क्षेत्र र कम यात्रु पाइने पहाडी क्षेत्र सबैतिरका यात्रुलाई एकनासले यातायात सेवामा पहुँच पुग्ने विभागको विश्वास छ । यस्तै विभागले १२ देखि १९ गतेसम्म काठमाडौं भित्रिने मल्टि एक्सेल (१४ चक्केभन्दा ठूला) सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकतामा राखेर ठूलो र लामो आकारका मालवाहक सवारी साधन प्रवेशमा विभागले रोक लगाएको हो ।

काठमाडौं भित्रिने त्यस्ता सवारी साधनलाई चितवनको नारायणगढमा पार्किङ गरी राख्नुपर्ने र १९ गतेपछि मात्र सञ्चालन गर्न पाउने गरी प्रदेश तीनका सम्बन्धित ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र गरिएको विभागले जानकारी दिएको छ ।

यात्रुवाहक सार्वजनिक सवारी साधन र यात्रुको चापलाई हेरेर १९ गतेपछि पनि फ्रि रुट कायम गर्न सकिने विभागले बताएको छ । “यात्रुको चाप र सवारी साधनको अवस्थालाई हेरेर १९ गतेपछि पनि फ्रि रुट परमिटको व्यवस्था गर्न सकिने छ । अहिलेलाई भने १२ देखि १९ सम्म सात दिनका लागि फ्रि रुट परमिटको व्यवस्था गरेका छौं,” महानिर्देशक हमालले भने ।

दसैंको समयमा उपत्यकाका तीन जिल्लाबाट २० देखि २५ लाख यात्रु बाहिरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाको आकलन छ ।

विगतका वर्षहरुमा पनि सरकारले दसैंको समयमा सवारीको रुट पर्मिट खल्ला गर्ने गरेको थियो। यात्रुको चाप कम हुने रुटका सवारी धेरै यात्रु भएको रुटमा जान सकुन भनेर यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्