राष्ट्र बैंकले तोक्यो दशैंका लागि नयाँ नोट साट्ने स्थान , यी स्थानमा जानुस्

काठमाडौं, असोज ६ । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट सटहीका लागि काठमाडौंसहित देशका विभिन्न स्थान तोकेको छ ।

नयाँ नोट असोज १० देखि १७ गतेसम्म साट्न पाइने छ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटहीको व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर नयाँ नोट सटही गर्न सकिने छ भने उपत्यका बाहिर आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको हो ।

अघिल्ला वर्षमा नोट साट्ने मुख्य थलो मानिएको थापाथली कार्यालयबाट भने यस वर्ष नयाँ नोट पाइने छैन । थापाथलीको कार्यालय भवन पुनर्निर्माण भइरहेकाले त्यहाँबाट नयाँ नोट नबाँड्ने राष्ट्र बैंकले जनाएको छ ।

तर मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट भने यस वर्ष नयाँ नोट वितरण गरिनेछ ।

काठमाडौं उपत्यकामा नयाँ नोट पाइने स्थानहरु

उपत्यकाभित्र राष्ट्र बैंकबाहेक नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट सेवाग्राहीले नयाँ नोट सटही गर्नसक्ने छन् ।

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाले नयाँ नोट वितरण गर्नेछन् । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट साट्न सकिने छ ।

राष्ट्रिय वाणिज्य बैंकतर्फ सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने छन् ।

कृषि विकास बैंकले भने काठमाडौं उपत्यकाका ६ वटा शाखा गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकबाट पैसा साट्न सकिने छ ।

राष्ट्र बैंकले यस अतिरिक्त अरु बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउने छ । राष्ट्र बैंकका अनुसार, आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् ।

उपत्यका बाहिर भने विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण गरिनेछ ।

उपत्यकाभित्र अन्य बैंकमार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले उपत्यकाबाहिर भने अन्य बैंकबाट नयाँ नोट सटही गर्ने व्यवस्था गरेको छैन ।

यस वर्ष सहकारी संस्थालाई भने राष्ट्र बैंकले सीधै नयाँ नोट वितरण नगर्ने भएको छ । राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई एकमूष्ठ नयाँ नोट दिने र सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी बैंकबाट लिनुपर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्