विकासका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई ऊर्जामन्त्री पुनको आग्रह

काठमाण्डौ , असोज ५ । ऊर्जामन्त्री वर्षमान पुनले विकास निर्माणका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई आग्रह गरका छन् ।

काठमाण्डौमा आइतबार भएको जलविद्युत सम्बन्धी अन्तरक्रियामा मन्त्री पुनले यस्तो आग्रह गरका हुन् ।
पछिल्लो समय विभिन्न आयोजनामा स्थानीयले अनुचित लोभ देखाउँदा लगानीमैत्री वातावरण बिग्रिएको भन्दै मन्त्री पुनले विकासमा अवरोध हुन नदिन सबै सचेत हुनुपर्ने बताए ।

कुनै नयाँ आयोजना गाउँमा आउनेबित्तिकै धेरैभन्दा धेरै पैसा निकाल्ने, स्कूल भवन, बाटो, सडक बनाउ भनेर दुख दिने गर्दा लगानीकर्ता निराश भएर भाग्ने वस्था आउन नदिन स्थानीय नै सजग हुनुपर्ने बताए ।

केन्द्रीय वा स्थानीय सरकारले नीतिगत रुपमा लगानीको वातावरण बनाउने प्रयासलाई स्थानीय जनताले व्यवहारिक रुपमा विकासमा लगानी मैत्री वातावरण बनाउन आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा मन्त्री पुनले स्थानीयसँग समन्वय गरेर निर्माण प्रक्रिया अगाडि बढाउन आयोजना निर्माणकर्ता र लगानीकर्तालाई आग्रह गरे ।

मन्त्रालयमा आयोजना निर्माण पक्षले स्थानीयलाई सरोकार नै नराखी समन्वय नगरी काम अगाडी बढाउँदा अप्ठेरोमा परेको गुनासो बोकेर धेरै डेलिगेसन आउने गरेको बताए ।

कार्यक्रममा मन्त्री पुनले मोदी खोलाका जलबिद्युत आयोजनाहरुले परेको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका थिए ।

सरकारले विद्युत ऐनसम्बन्धी मस्यौदा तयार गरेर सार्वजनिक प्रतिक्रिया र छलफलका लागि मन्त्रालयको वेब साइटमा राखेको भन्दै अध्ययन गरी सुझाव दिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्