दशैँका लागि बसको अग्रिम टिकट बुकिङ आजदेखि खुल्यो

काठमाडौं, असोज ५ । दसैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ ।

दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।

गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको हो ।

महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । दशैं र तिहारमा करिब २५ लाख मानिस राजधानीबाट बाहिरीने गरेका छन् ।

यत्तीका संख्यामा मानिस बाहिरीने भएपछि सरकारले प्रत्येक वर्ष अग्रिक टिकट खुलाउने गरेको छ । यस वर्षको टिकट बुकिङ सुरु गर्नुभन्दा अघिल्लो दिन सवारीसाधनको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो ।

दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् ।

टिकट बुकिङ खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने भएको छ ।

बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने विभागमा निर्देशक तिर्थराज खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्