मुलकभर सडकको किनारमा रहेका बिजुलीको पोल सार्न मात्रै ५० अर्ब आवश्यकः कुलमान घिसिङ

काठमाडौं , असोज ३ । मुलकभर भइरहेको सडक विस्तारका क्रममा सडकको किनारमा रहेका विद्युत्का पोल हटाउन मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने नेपाल विद्युत् प्राधिकरणले अनुमान गरेको छ ।

प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पोल सार्नका लागि पर्याप्त बजेट नछुट्टयाइएकाले काम गर्न गाह्रो भएको बताए ।


उनले सडक विभागले ठेक्का गर्दा नै पोल सार्ने विषयलाई त्यसमा समेट्नुपर्ने बताउँदै पोल सार्न प्राधिकरणले प्राविधिक सहयोग र सहजीकरण मात्रै गर्न सक्ने प्रष्ट पारे ।

घिसिङले भने, “मुलकभर सडक विस्तार भइरहेको छ, त्यहाँ रहेका पोल सार्न ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ । तर सरकारले बजेट भने २०–२५ करोडमात्रै दिएको छ । त्यसैले एकातर्फ पोल सार्न बजेट अभाव छ भने अर्कोतर्फ झन्झटिलो र गाह्रो छ ।” प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङका अनुसार पोल सार्नका लागि प्राधिकरण बाधक बन्दैन । सम्बन्धित निकायले सार्नु पर्छ, गुणस्तर सुनिश्चित गर्न प्राधिकरणले प्राविधिक सहयोग गर्नेछ ।

सरकारले पोल सार्नका लागि गत आर्थिक वर्षमा २१ करोड र चालू आवमा २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सडक विस्तारका क्रममा पोल नसारिदिएको भन्दै प्राधिकरणको आलोचना हुने गरेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

सडकमा रहेका विद्युत् पोलहरु समयमै सार्न नसक्दा आयोजनाको निर्माण प्रभावित हुने गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले प्राधिकरणको प्रतिष्ठामा नै आघात पुग्ने गरेको कार्य रोक्न सरकारी निकायहरुबीच समन्वय गरी काम अगाडि बढाइनु पर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्