सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस ( हेर्नुहोस् फोटोसहित)

काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गरिन् ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सहभागी थिए । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गरिएको थियो ।

यसैगरी संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधारण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।

सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला राजधानीका टुँडिखेलमा विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधारण कार्यक्रम अवलोकन गर्नबाटै बञ्चित भएका हुन् ।

मूल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउदै हटाएपछि सर्वसाधारण कार्यक्रम अवलोकन गर्नबाट बञ्चित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्