करीब रु. ११ अर्बको धागो निर्यात


काठमाडौँ, २ असोज । स्वदेशी धागो उत्पादनका क्षेत्रबाट करीब रु ११ अर्बको निर्यात भएको छ । स्वदेशमा रु चार अर्बको मात्र खपत भएको धागो करीब रु १५ अर्बको उत्पादन भएको जनाईएको छ । पछिल्लो समय व्यापार घाटा बढदै गएको छ । यस्तो अवस्थामा यस क्षेत्रले व्यापार घाटालाई न्यूनीकरण गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

नेपाल धागो उत्पादक संघले स्वदेशमा बनेका विभिन्न तयारी पोशाकको प्रवद्र्धन गर्न विहीबारदेखि भृकुटीमण्डपमा मेला शुरु गरेको छ । उक्त मेलामा धागो उत्पादन गर्ने चार कम्पनीका साथै अन्य व्यवसायीका तयारी पोशाक, गार्मेन्ट व्यवसायमा प्रयोग हुने विभिन्न यन्त्र, विभिन्न प्रकारका सामान राखिएका छन् । यही असोज ६ गते सम्म जारी रहने मेलाको नारा स्वदेशी लगाऔँ, स्वदेशी बनौँ भन्ने छ । मेलामा अवलोकन गर्न विभिन्न उमेर समूहका मानिसको सहभागिता पाइएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मेला शुभारम्भ गर्दै स्वदेशी उत्पादनको खपतलाई वृद्धि गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधनको अन्तिम तयारी भइरहेको बताए । सरकारको लगानी रहेको बुटवल धागो उद्योग नीजि क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिन लागेकाले पनि निजी क्षेत्रका व्यवसायीलाई विश्वासमा लिएर सरकारले कार्यक्रम अगाडि बढाएको उनको भनाई थियो । उनले भने– ‘कपास, ऊन, रेशा, तथा धागोजन्य वस्तुका विभिन्न उत्पादनलाई मूल्य श्रृङ्खलामा ल्याउनुपर्छ ।’ उद्यमीलाई पारदर्शी व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै मन्त्री खतिवडाले मूल्य अभिवृद्धि कर (भ्याट) ले उपभोक्तालाई लागत थपेको भए पनि यसले चोरी पैठारी नियन्त्रणमा सहयोग गरेको विचार व्यक्त गरे ।

संघका अध्यक्ष पवनकुमार गोयलले टेक्सटाईल क्षेत्रले करीब १० लाखलाई रोजगार दिएको जानकारी दिँदै दक्ष जनशक्तिको अभाव रहेको उक्त क्षेत्रको विकासका लागि वोर्ड गठन गर्न माग गरे ।
उद्यमीलाई पूर्वाधार, सडक, विद्युत्को व्यवस्था, लगानीका लागि उपयुक्त वातावरण, सुरक्षाका साथै आयकर तथा व्याजमा छुटको व्यवस्था गरी व्यवसायीको संरक्षण गर्नुपर्ने बताउँदै अध्यक्ष गोयलले क्षेत्रले आगामी पाँच वर्षमा पाँच लाखलाई रोजगारी दिन सक्ने हुँदा प्रत्येक प्रदेशमा टेक्सटाईल पार्कको खाँचो औँल्याए ।

प्रतिक्रिया दिनुहोस्