प्रमुख निर्वाचन आयुक्त भन्छन् – उपनिर्वाचनमा विदेशबाट मतदान सम्भव छैन

काठमाडौँ , असोज २ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आसन्न उप–निर्वाचनका लागि विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन नसकिने बताएका छन् ।

उनले त्यसका लागि ठूलो तयारी र गृहकार्य आवश्यक रहेकोले तत्काल सम्भव नभएको बताए ।

संसदको राज्य व्यवस्था समितिको बिहीबार बिहान बसेको बैठकमा थपलियाले प्राविधिक हिसाबले पनि ठूलो तयारी गर्नुपर्ने भएकोले आसन्न निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई सहभागी गराउन नसकिने बताएका हुन् । तर यसपछिका निर्वाचनमा त्यो व्यवस्था लागु गर्नका लागि निर्वाचन आयोगले अध्ययन गरिरहेको उनको भनाई थियो ।

यसअघि सर्वाेच्च अदालतले पनि ठूलो संख्यामा नेपाली मतदाताहरु विदेशमा रहेकाले उनीहरुलाई पनि विदेशबाटै मतदानको व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो । प्रमुख विपक्षी कांग्रेसले पनि यसमा आवाज उठाउँदै आएको छ ।

‘सर्वाेच्चले निर्देशनात्मक आदेश दिए पनि अहिले हामी अध्ययनकै क्रममा छौँ, विदेशबाट मतदानका लागि प्राबिधिक रुपमा पनि धेरै तयारी गर्नुपर्ने हुन्छ, मतदानको निष्पक्षताको पनि प्रश्न उठ्ला’, थपलियाले भने, ‘त्यसैले विदेशबाटै मतदान उप निर्वाचनमा सम्भव छैन ।’

उनले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आयोगले तीव्र गतिमा तयारी गरिरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्