स्वास्थ्यमन्त्री यादवको कडा आलोचनाः ‘जनता डेँगुको मारमा छन्, मन्त्रीचाहिँ विदेश घुमिरहने ?

काठमाडौं , असोज १ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सांसदहरुले डेँगु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै कडा आलोचना गरेका छन् ।

उनीहरुले जनता डेँगुको मारमा परिरहँदा मन्त्री यादव भने विदेश शयरमा रहेको भन्दै आक्रोश पोखे ।

नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले मन्त्री यादवलाई जनता डेँगुको मारमा परिरहँदा मन्त्रीचाहिँ विदेशमात्र घुमिरहने ? भन्दै प्रश्न गरिन् । उनले साउन १ गतेदेखि डेँगुको संक्रमण भएको बताएका मन्त्री यादवलाई असोज १२ गते बल्ल सोबारे बताउन संसदमा उपस्थित भएको भन्दै योबीचमा कहाँ हुनुहुन्थ्यो भनेर प्रश्न गरिन् ।

कांग्रेसका अर्का सांसद देवप्रसाद तिमल्सिनाले डेँगु संक्रमितहरुले टेकुस्थित सरुवा रोग उपचार हुने केन्द्रमा राम्ररी उपचार नपाएकोतर्फ नहेर्ने तर विदेशमात्र हेरिरहने भन्दै मन्त्रीको आलोचना गरे । “विकसित देशमा नियन्त्रण भएन । नेपालमा न्यून छ भनेर विदेश जाँदै हुनुहुन्छ,” उनले भने, “महामारीको बेलामा मन्त्री देश छाडेर हिँड्न मिल्छ ?”

अर्का सांसद राजन केसीले जनता संक्रमणमा हुँदा मन्त्री विदेशमा घुमिरहेको र अहिले बनिबनाउ र लिखित जवाफले जनताको चित्त नबुझ्ने बताए ।

यसैगरि सत्तारुढ दलका सांसदहरु विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ र नविना लामाले पनि मन्त्री यादवको विरोध गरे । सांसद खतिवडाले सन्तान नहुनेका लागि सन्तानेश्वर बनाएजस्तो लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव स्थापना गरौं भन्दै व्यंग्य गरे ।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले डेँगुबारे धेरैपटक कुरा उठे पनि मन्त्री यादव कानमा तेल हालेर बसेको आरोप लगाए । “सभामुखले रुलिङ गरेपछि चेत खुल्यो । यस्तो गैरजिम्मेवारीप्रति के छ जवाफ ? यस्तो संकट छ, बाहिर जाने ? स्वास्थ्यमन्त्रीजी, टेकुमा जानुभाछ ?” उनको आक्रोश थियो ।

नेकपाकै अर्का सांसद जीवनराम श्रेष्ठले डेँगु नियन्त्रणमा मन्त्रीको भूमिकाको आलोचना गरे । उनले काठमाडौंको जनघनत्वमा फैलँदा विकराल हुनसक्ने भन्दै उपत्यकाभित्र विशेष अभियान चलाउन माग गरे ।

सांसद नविना लामाले जनता पीडित भइरहेका बेला स्वास्थ्य मन्त्रालयले शून्य काम गरेको टिप्पणी गर्दै स्वास्थ्यजस्तो संवेदनशिल विषयमा मन्त्रालय जिम्मेवार नबनेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्