राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सर्वसम्मत पारित

काठमाडौं, भदौ ३१ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।


गृहमन्त्री रामबहादुर थापाले मंगलबार राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक ०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गरेका थिए ।


राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सो प्रस्तावलाई निर्णयार्थ पेश गर्दा हुन्न भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मत पारित भएको घोषणा गरेका हुन् ।

०७५ पुस २० गते गृहमन्त्रालयले सो विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो । प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने, व्यक्तिको वैयक्तिक र जैविक विवरण तथा राष्ट्रिय परिचय नम्बरसहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरी सो प्रणालीलाई राज्यबाट उपलब्ध सेवा सुविधा र राष्ट्रिय विकास योजना एवं सुरक्षा व्यवस्थासँग आवद्ध गर्ने तथा व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न ऐन बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्