नेपालमा उत्तर कोरियाली लगानीमा प्रतिबन्ध

काठमाडौं, ३० भदौ । सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित नौ वटा व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिएको छ ।

भदौ तेस्रो साताबाट लागू हुने गरी दुई महिनाभित्र व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार केही व्यवसाय सञ्चालनमा थिए भने केहि उद्योग विभागमा दर्ता भएर सञ्चालनको तयारीमा थिए । तर, संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता पठाउन थालिएको विभागले जानकारी दियो ।

विभागका अनुसार लगानी फिर्ता लैजान नेपालस्थित कोरियाली दूतावासलाई पटकपटक आग्रह गरेको थियो । दुई पटकसम्म दूतावासका डीसीएम किम जोङसँग मौखिक साझेदारी पनि भएको थियो । तर, कार्यान्वयन नभएपछि परराष्ट्रमार्फत पत्राचार गर्नुका साथै उनीहरुको भिसा अवधि समेत थप नगरिएको हो ।

विभागका अनुसार ९ वटा उत्तर कोरीयाली लगानीका व्यवसयमा संलग्न कामदारहरुको भिषा समेत अक्टोबर ३१ सम्मका लागि मात्रै थपिएको छ ।
उद्योग विभागका अनुसार उत्तर कोरियाली नागरिकले नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयर निमार्ण क्षेत्रका व्यवसायमा लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्