नेकपालाई बहुमतको आडमा विधेयक पारित नगर्न कांग्रेसको आग्रह

काठमाडौ, ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुमतको आडमा विधेयक पारित नगर्न सरकार र नेकपालाई आग्रह गरेको छ । आइतबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तहको छलफलमा कांग्रेस नेताहरुले नागरिकता लगायत विवादस्पद विधेकयहरु बहुमतको आडमा पारित नगर्न सचेत गराएको हो ।

जवाफमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सहमति जुटाउनकै लागि आफूले नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा मतदान हुन नदिएको भन्दै सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कांग्रेसले वैवाहिक अंगीकृतसम्बन्धी व्यवस्थामा नागरिकता ऐन २०६३ मा भएको व्यवस्थाअनुसार नै हुनुपर्ने अडान लिएको छ । प्रस्तावित नागरिकता विधेयकमा विदेशी महिलालाई अंगीकृत नागरिकता कति वर्षमा प्रदान गर्ने, प्रकृया के हुने र कुन–कुन अधिकार दिने जस्ता बिषयमा सहमति जुट्न सकेको छैन ।

आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले नागरिकता विधेयकमा अझै बृहत छलफल गरेरमात्रै अघि बढ्ने बताउनुभएको छ ।

नागरिकता लगायत पछिल्ला घटना क्रममा बारेमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा नेकपा र कांग्रेसबीच शीर्ष छलफल भएको हो ।

छलफलमा देउवासहित कांग्रेसका ११ शीर्ष नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्