तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक काट्नु नपर्ने

काठमाडौ , भदौ २९ । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ।

नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ।

बैंकका अनुसार रु दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको हो। यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो। यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ।

आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी दिनेछन्। त्यसअघि सामान्य एउटा फर्म भरे मात्रै हुनेछ। यस्तै खाता भएरनभएको, खातामा पैसा भए÷नभएको तथा खातावाल व्यक्तिको आवश्यक विवरण रुजुपछि बैंकले तत्काल नै अर्को व्यक्तिको खातामा पैसा पठाइदिनेछ।

यसबाट समयको बचत हुने छ। यस्तो प्रणाली तत्कालका लागि भने ऐच्छिक मात्रै हुनेछ। सबै ग्राहक अभ्यस्त भइसकेपछि पूर्णरुपमा लागू गर्ने केन्द्रीय बैंकको भनाइ छ।

सो प्रणालीको शुरुआत गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले आरटिजिएस प्रणाली प्रविधिको क्षेत्रमा नयाँ र प्रभावकारी प्रणाली भएको बताए। उनले भने, “यो अन्तर्रा्ष्ट्रिय प्रकारको प्रणाली हो। यसले पारदर्शी कारोवार प्रणालीलाई थप व्यवस्थित गर्छ। हामी बैंक तथा वित्तीय संस्थालाई थप व्यावसायिक र पारदर्शी बनाउन लागिपरेका छौँ।”

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यही भदौ २२ गते नै आरटिजिएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग सम्झौता गरिसकेको छ।

राष्ट्र बैंकले यही भदौ १९ गते आरटिजिएस नियमावली ल्याएको थियो। सोही नियमावलीअनुसार नै भदौ २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्